नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्दै, एसियन कप पुग्ने लक्ष्यमा बलियो कदम

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोली आज एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। दक्षिण एसियाली प्रतिस्पर्धी श्रीलंकालाई फराकिलो अन्तरले हराउने लक्ष्यसहित नेपाल मैदान उत्रन लागेको हो।
खेल उज्बेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपालले लाओसलाई ९–० को सानदार जित दिएको थियो भने श्रीलंका घरेलु टिम उज्बेकिस्तानसँग १०–० ले पराजित भएको थियो। यस आधारमा नेपाल आजको खेलमा बलियो प्रदर्शन गर्ने विश्वास गरिएको छ।
नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले पहिलो खेलमा टोलीमा केही नयाँ अनुहारहरुलाई अवसर दिएका थिए। फरवार्ड सावित्रा भण्डारीले पहिलो पटक कप्तानी सम्हाल्दै ह्याट्रिक सहित चार गोल गरेकी थिइन्। अन्य गोल अनिता बस्नेत, सरु लिम्बु, रश्मीकुमारी घिसिङ र अनिता केसीले गरेका थिए।
फिफा वरियताको हिसाबले श्रीलंका समूहको सबैभन्दा कमजोर टिम मानिन्छ। पछिल्लो एक वर्षमा मात्र चार अन्तर्राष्ट्रिय खेल खेलेको श्रीलंकाले यसपटक पहिलो पटक एएफसी एसियन कप छनोटमा भाग लिएको हो। अघिल्लो साफ च्याम्पियनसिपमा भने श्रीलंकाले नेपालसँग समूह चरणमै खेल्दै ६–० को हार बेहोरेको थियो।
नेपालले अहिलेसम्म श्रीलंकासँग सात खेल खेलेको छ, जसमा सबैमा विजय हासिल गरेको छ। त्यसैले नेपाल आजको खेलमा उज्बेकिस्तानभन्दा ठूलो अन्तरले जित्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको हो।
गोलअन्तरको हिसाबले समूहको शीर्ष स्थानमा रहने टिमले सिधै अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने एसियन कपको टिकट पाउनेछ। नेपालले समूह चरणको अन्तिम खेल शनिबार आयोजक उज्बेकिस्तानसँग खेल्नेछ।