एमाले महासचिवको माग: आपराधिक घटनामा संलग्न र निर्देशन दिनेलाई कारबाही गरिनुपर्छ

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न तथा निर्देशन दिनेहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले राजावादीहरूको आन्दोलन हिंसात्मक, अराजक र प्रतिशोधात्मक रहेको बताउँदै यसले आम जनतालाई आतंकित बनाएको आरोप लगाए। पोखरेलले तोडफोड, आगजनी, लुटपाटबाट प्रभावितहरूलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले लोकतान्त्रिक समाज निहित स्वार्थ र प्रतिशोधबाट प्रभावित नहुने भन्दै, नयाँ पुस्ताले राजतन्त्रको निरंकुशताको बारेमा बुझ्न अवसर पाएको धारणा व्यक्त गरे।