त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ, सडक एकतर्फी बनाइयो

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार दिउँसो ३ बजे पोखराबाट काठमाडौं आगमनको तयारीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। विभिन्न राजावादी संगठनहरूले उनलाई स्वागत गर्न विमानस्थलसम्म जाने योजना बनाएकाले सुरक्षा सतर्कता बढाइएको हो।

काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार, अनधिकृत व्यक्तिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। केवल हवाई टिकट भएका यात्रु र स्टाफलाई मात्र प्रवेश अनुमति दिइएको छ। समर्थकहरूले विमानस्थल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै, वरपरका क्षेत्रमा चेकिङ कडा पारिएको छ।
गोल्डेन गेटबाट विमानस्थलमा आफन्तलाई लिन वा पुर्याउन चाहनेहरूको लागि टिकट जाँच गरेर मात्र प्रवेश दिइँदैछ, भने पठाओ जस्ता इन्डाइभहरुलाई प्रवेश अनुमति दिइएको छैन। साथै, विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाट सडक एकतर्फी बनाइएको छ। प्रवेशका लागि गोल्डेन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनका लागि एराइभरबाट पठाइएको छ। प्रहरीले विमानस्थलमा भीड गर्न पनि रोक लगाएको छ। काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ र चोक–चोकमा प्रहरीको संख्या बढाइएको छ। एसपी बोहराका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभाग गरी करिब २४०० सुरक्षाकर्मी परिचालन गरिएको छ।