Online News Portal

छ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार ०७:४९ | लेखक: मालिका खबर

काठमाडौँ : स्याङ्जाको चापाकोट नगरपालिकाले आर्थिक रूपमा कमजोर छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। नगरपालिकाका १० वडाका प्रत्येक वडाबाट ६० अति विपन्न परिवार छनोट गरी बिमा गराइएको हो। नगर प्रमुख देवबहादुर खाँडका अनुसार, यो योजना नेपाल सरकारको स्वास्थ्य बिमा अभियानसँग समायोजन गर्दै स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यले ल्याइएको हो।

यसका लागि चालु आर्थिक वर्षमा रु २५ लाख ६० हजार बजेट विनियोजन गरिएको थियो। पहिलो चरणमा छ सय परिवारको बिमा गरिसकिएको छ भने दोस्रो चरणमा अपाङ्गता भएका र अन्य विपन्न गरी थप १२५ जनाको बिमा गरिनेछ। बिमा प्राप्त गरेका नागरिकलाई बिमा कार्ड वितरण गरिसकिएको छ, जसअनुसार एक परिवारले वार्षिक रु एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा पाउनेछन्।