काठमाडौँ: मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध बिहीबार मुद्दा दायर भएको हो ।यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई सहकारी ऐन २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएको हो ।
लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा आवद्ध कोइराला सहकारीको सदस्य हुँदा सहकारीले लघुवित्तबाट ऋण लिने निर्णय गरेको थियो ।