Online News Portal

प्रचण्ड र बेलायती राजदूतबिच भेट

काठमाडौँ:  पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।

शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति पक्रियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिनुहुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्नुहुँदै जलवायु न्याय लगायतका क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।