Online News Portal

प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

काठमाडौँ:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयकातर्फबाट प्रस्तुती दिँदै उनले क्यान विभाजनसम्बन्धी विधेयक अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिए।

‘मन्त्रालयले क्यानलाई अलग बनाउने कानुनका मस्यौदा अगाडि बढाएको हो। क्यान विभाजनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो,’ सचिव पाण्डेले भने।

क्यानलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विसं २०७६ फागुन ११ गते राष्ट्रियसभामा दर्ता गराएका थिए। विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक विसं २०७९ असोज १ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.