Online News Portal

कलेजो प्रत्यारोपण : महिला दिन्छन्, पुरुष लिन्छन्

प्रकाशित: ९ श्रावण २०८१, बुधबार १०:०१ | लेखक: मालिका खबर

काठमाडौं : विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो । नागालाई उनकी दिदी सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन् ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै शतप्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरिएको सो केन्द्रले जनाएको छ । हालसम्म सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल रहेको केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

‘केन्द्रमा बिरामीको बिग्रेको कलेजो पूरै हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पूरै कलेजो प्रत्यारोपण गर्ने गरिएको छ,’ उनले भने, ‘तीन वर्षको बालकदेखि ६८ वर्षका ज्येष्ठ नागरिकसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौँ ।’