नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । ०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए ।
प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको सहमतिका आधारमा प्रचण्डलाई विस्थापित गरेर ओली प्रधानमन्त्री बनेका हुन् ।