Online News Portal

बजेटमा अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न सकिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताउनुभएको छ ।

 

.
काठमाडौँ: बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदको काम, कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको बताउनुभएको हो । उहाँले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरे अनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोशिस गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संघीय संसदमा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिएपनि संसदको कार्बाही नियमित रुपमा सुचारु हुन नसक्दा, नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा हामीले अपेक्षा गरे अनुसारको रुपान्तरण गर्न भने सकेनौँ । तर सरकारले नीति तथा कार्यक्रममा उल्लेखित विषयहरुलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी बजेटमा तालमेल कायम गर्ने पूरै कोशिस गरिएको छ । बजेट विनियोजन गर्दा बहुवर्षिय स्रोत, सहमती दिइएका आयोजना, आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजना, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने आयोजना, क्रमागत रुपमा रहेका आयोजना तथा अनिवार्य दायित्व अन्तर्गत खर्च हुने कार्यक्रमका प्राथमिकतापूर्वक अनिवार्य रुपमा बजेट प्रस्ताव गर्नुपर्ने हुन्छ । संघीयता र गणतन्त्रको रक्षा एवम् संविधानले निर्दिष्ट गरेको मार्गचित्र बमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन र समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिक तथा क्षेत्रगत विनियोजनबाट प्रष्ट भएकै छ ।’
प्रधानमन्त्री दाहालले थारु लगायत आर्थिक र सामाजिक रुपमा पछाडी परेका समुदायको पहिचान स्थापित गर्न सरकार गम्भीर रहेको बताउनु भयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.