Online News Portal

संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरकारलाई राष्ट्रिय सभा सदस्यहरुको ध्यानाकर्षण

काठमाडौँ: संघीय संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

..
मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले संघीय संसदका कर्मचारीहरु मागप्रति समर्थन गर्दै तत्काल माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले अतिरिक्त समयमा गरेको कामको भत्ता उपलब्ध गराउनुपर्ने बताउनु भयो । संसद सचिवालयका कर्मचारीहरुले राखेको माग जायज रहेकाले सरकारले तत्काल वार्ता गरेर सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघीय संसदका कर्मचारीहरुले जो आफ्ना माग राखेर आन्दोलनरत हुनुहुन्छ, काममा बाधा नपर्ने गरी अहिलेसम्म उहाँहरु आन्दोलनमा हुनुहुन्छ । उहाँहरुले मागेका मागहरुको म पूर्ण समर्थन गर्दछु । उहाँहरुका मागहरु यथाशक्य सरकारले पूरा गर्नुपर्छ भनेर सरकारसँग आग्रह गर्न चाहन्छु । उहाँहरुले धेरै मागेको जस्तो पनि मलाई लागेको छैन । उहाँहरुले ओभर टाइम खटेको पैसा यो संसारभरको नियमले पनि दिनुपर्ने हो । उहाँहरुको जागिर भनेको बन्द सेवा हो । त्यो उहाँहरुले संसद सचिवालय वा संसद भन्दा बाहिर जान पाउनु हुन्न । त्यसैले स्वभाविक रुपमा उहाँहरुले घरभडाको कुरा छ, भत्ताको कुरा छ, राजधानी जस्तो ठाउँमा बसेर महंगो ठाउँ छ, त्यसमा उहाँहरुले राख्नुभएको माग जायज छ । उहाँहरुसँग वार्ता गरेर सम्बोधन गर्नुपर्छ ।’
बैठकमा नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सिंहदरबारस्थित कार्यालयमा काम गर्ने कर्मचारीहरुको माग सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले तत्काल माग सम्बोधन गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सिंहदरबारस्थित कार्यालयमा काम गर्ने कर्मचारीहरु आन्दोलनरत हुनुहुन्छ । र उहाँहरुको वेतन, घरभाडाको कुरा उठेको छ । लामो समयसम्म तलवमानको कुरा उठेको छ । र बाँकी समय काम गर्ने र त्यसको सेवा सुविधानको कुरा उठेको छ । र यो ११ सूत्रीय माग राखेर आन्दोलनमा हुनुहुन्छ, त्यसमा सरकारले ध्यान देओस् । त्यो पूरा गरोस् ।’
बैठकमा नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले देशभरका सरकारी कर्मचारीहरु न्युन तलवमा काम गरेको तर पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा तलव वृद्धि नगराएको बताउनु भयो । उहाँले संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे माग राखी आन्दोलन जारी राखेको भन्दै उनीहरुका माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशभरका सरकारी कर्मचारीहरु न्युन तलवमा काम गरेको हामी सबैलाई थाहा छ । यस वर्षको बजेटमा नेपाल सरकारले उनीहरुको तलव वृद्धि र सेवा सुविधामा कुनै व्यवस्था गरेन । यसै सन्दर्भमा संघीय संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे माग राखी केही दिन यता आन्दोलनरत छन् । उनीहरुको जायज माग पूरा गर्न र सम्पूर्ण सरकारी कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न सरकारको ध्यान जाओस् ।’
नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले संघीय संसदका कर्मचारीको ११ बुँदे माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संघीय संसदका कर्मचारी साथीहरु ११ बुँदे माग पत्र राख्दै अहिले पनि आन्दोलनमा हुनुहुन्छ । उहाँका यथोचित मागहरु सरकारले सम्बोधन गरोस् । सम्माननीय अध्यक्षज्युमार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ।’
सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले संघीय संसदका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले संघीय संसद सचिवालयका कर्मचारी, प्रशासन नियमावली, २०६५ लाई अध्यावधिक गरी अनुसूचि १२ लाई समयानुकुल परिमार्जनको माग सम्बोधन हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघीय संसदका कर्मचारी साथीहरु यतिबेला आन्दोलनमा हुनुहुन्छ । संघीय संसद सचिवालयका कर्मचारी, प्रशासन नियमावली, २०६५ लाई अध्यावधिक गरी अनुसूचि १२ लाई समयानुकुल परिमार्जन गर्नुपर्ने उहाँहरुले विषय उठाउनुभएको छ । संघीय संसदको तोकिएको कार्यालय समयभित्र सञ्चालन नहुने भएकाले सचिवालयमा कार्यरत कर्मचारीहरुले अतिरिक्त समयमा समेत काम गर्नुपर्ने अवस्था रहेको आइएलओको महाधिवेशनको मान्यताअनुसार अतिरिक्त समयको श्रम गरे बापत त्यसको उचित भत्ता र श्रमको मूल्य पाउनुपर्ने कुरा रहेको छ । त्यसैगरी सचिवालयमा सञ्चालन तथा व्यवस्थापन समितिले नियमावलीमा संशोधन गरी सचिवालयमा स्थायी दरबन्दीमा कार्यरत रहेका वि.सं. २०५९ देखि तलवमान कामय हुन नसकेका हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरुको छैटौं तहको तलवमान कायम गरिनुपर्ने, सो गर्न नसके अवकाश हुनु भन्दा एक महिना अगावै हलुका सवारी चालकहरुलाई हेभी सवारी चालक तथा कार्यालय सहयोगीहरुलाई राजपत्राङ्कित तृतीय श्रेणीमा बढुवाको सुविधा गर्नुपर्ने लगायतका उहाँहरका मागहरुप्रति म पूर्ण समर्थन गर्दै यसलाई कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छु ।’
उहाँले सचिवालयमा सञ्चालन तथा व्यवस्थापन समितिले नियमावलीमा संशोधन गरी सचिवालयमा स्थायी दरबन्दीमा कार्यरत रहेका वि.सं. २०५९ देखि तलवमान कामय हुन नसकेका हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरुको छैटौं तहको तलवमान कायम गरिनुपर्ने, सो गर्न नसके अवकाश हुनु भन्दा एक महिना अगावै हलुका सवारी चालकहरुलाई हेभी सवारी चालक तथा कार्यालय सहयोगीहरुलाई राजपत्राङ्कित तृतीय श्रेणीमा बढुवा गर्न आग्रह गर्नुभयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.