Online News Portal

दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण

काठमाडौँ : नेपाली काँग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको भएपनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको बताउनुभएको हो । उहाँले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले दलित समुदाय ४५ लाखको हाराहारीमा रहेका र त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनि रहेका भन्दै उनीहरुको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संविधानका धारा ४० न सरकारका मन्त्रीहरुले पढ्नुहुन्छ । न सरकारमा एकजना दलितको मन्त्री छ । म धारा ४० मन्त्रीज्युहरुलाई, सचिवज्यूहरुलाई एकपटक पढेर हेरिदिनुस् । दलितहरुका हक, अधिकारका बारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवा लगायतका धेरै अधिकारहरु त्यहाँ उल्लेख गरेका छन् । त्यसको कार्यान्वयन गर्ने कुरामा सरकार अहिलेसम्म ध्यान, दृष्टि जान थालेको छैन । म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु, दलित समुदाय सन् २०२१ को जनगणना अनुसार १३.८ प्रतिशत छन् । ४५ लाखको हाराहारीमा छन् । त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनी छन् । गरिबीको रेखामुनी रहेका दलितहरुको पक्षमा यो सरकारले कुनै कार्यक्रम ल्याउन सकिरहेको छैन । पुर्नस्थापित प्रतिनिधि सभाले जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा ग¥यो । तर त्यसको कार्यान्वयन भएको छैन । त्यसतर्फ सरकारको गम्भीरतापूर्वक ध्यान जाओस् ।’
उहाँले छुवाछुतमुक्त राष्ट्र घोषणा भएपनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।