काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रदेशलाई अधिकार दिने विषयमा कति पटक प्रदेश सरकारसँग छलफल गरेको ? भनेर प्रधानमन्त्री दाहाललाई प्रश्न पनि गर्नुभयो । सांसद ढुंगानाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै सुशासनको घण्टी बजाउनेहरुले नै मुलुकमा सुशासनको विरुद्धमा काम गरिरहेको बताउनु भयो । उहाँले मुलुकमा सुशासन कायम गर्न सरकार समेत सचेत नभएको आरोप लगाउनु भयो । जसले सुशासनका लागि घण्टी बजाएर देशमा जितेर आए त्यही व्यक्तिले सुशासनको विरुद्धमा काम गरिरहेको सांसद ढुंगानाको भनाई थियो । उहाँले संघीयतालाई बलियो बनाउने ऐनहरु निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत बनाउनु भयो ।
सांसद ढुंगानाले भन्नुभयो, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु–यो सदनले, सदनका माननीयजीहरुले हरेक प्रदेशमा गएर प्रदेशलाई चाहिने ऐन बनाई दिनुपर्छ, अनिमात्रै संघीयता बलियो हुन्छ भनेर प्रतिवेदन दिनुभएको छ । संघीयतालाई बलियो बनाउने गरी सरकारले ऐन बनाओस् भन्ने कुरा म राख्न चाहन्छु । हामी जिम्मेवार भएनौं । जसले सुशासनका लागि घण्टी बजाएर यो देशमा जितेर आए, त्यही व्यक्तिले सुशासनको विरुद्धमा काम गरिराखेका छन् भनेर हामीले भन्न खोजेका थियौं । यस दिशातर्फ सरकार किन सचेत भईराखेका छैन ? प्रधानमन्त्रीले प्रदेश सरकारका मुख्यमन्त्रीसँग अधिकार बाँडफाँडको विषयमा कति पटक छलफल गरेका छन् ? गरेका छैनन् । ’
सांसद ढुंगानाले निजमती कर्मचारी सेवा ऐन, प्रादेशिक प्रहरी ऐन बनाउनेमा काममा आलटाल गरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।