२० वर्षपछि फाइनलमा आर्सनल, उपाधि जोगाउने लक्ष्यमा पीएसजी
काठमाडौँ : युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलका रोमाञ्चक खेल पार गर्दै दुवै टोलीले उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेका हुन्
फाइनल खेल मे ३० मा हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा हुनेछ ।
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने आर्सनल दुई दशकपछि फाइनलमा पुग्दै नयाँ इतिहास रच्ने तयारीमा छ ।
फाइनल यात्राका क्रममा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखलाई समग्रमा ६–५ गोलअन्तरले पराजित गरेको थियो । पहिलो लेगमा ५–४ को रोमाञ्चक जित निकालेको पीएसजीले दोस्रो लेग १–१ गोलको बराबरीमा टुंग्याउँदै फाइनल यात्रा तय गरेको हो ।

दोस्रो लेगमा खेल सुरु भएको तेस्रो मिनेटमै उस्मान डेम्बेलेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उक्त गोल च्याम्पियन्स लिग सेमिफाइनल इतिहासकै तेस्रो छिटो गोलका रूपमा समेत दर्ज भयो । इन्जुरी समयमा ह्यारी केनले बराबरी गोल फर्काए पनि बायर्नलाई फाइनल पुग्न पर्याप्त हुन सकेन ।
पीएसजीका ख्भिचा क्वारात्स्खेलियाले पनि नयाँ कीर्तिमान बनाएका छन् । उनी लगातार सात नकआउट खेलमा गोल वा असिस्ट गर्ने पहिलो खेलाडी बनेका हुन् । अघिल्लो सिजन पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजी यसपटक पनि आफ्नो लय कायम राख्ने योजनामा देखिएको छ ।
यता, प्रशिक्षक मिकेल अर्टेटाको नेतृत्वमा रहेको आर्सनलले स्पेनिस क्लब एटलेटिको मेड्रिडलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको अवस्थामा दोस्रो लेगमा आर्सनलले १–० को कठिन जित निकालेको थियो ।
आर्सनलका लागि बुकायो साकाले ४४औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । साकाले यस सिजन घरेलु मैदानमा च्याम्पियन्स लिगअन्तर्गत ९ गोल र ५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सन् २००६ मा बार्सिलोनासँग फाइनलमा पराजित भएयता आर्सनल पहिलो पटक प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।
बुडापेस्टमा हुने फाइनललाई अनुभव र उत्साहबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । लुइस एनरिकेको पीएसजीसँग उपाधि जोगाउने आत्मविश्वास छ भने आर्सनलसँग लामो समयको प्रतीक्षा अन्त्य गर्ने ठूलो अवसर रहेको छ ।