Online News Portal

हवाई भाडा महंगो भएकाले घटाउनका लागि पहल गरिदिन कोरियाका पूर्व पर्यटन मन्त्रीलाई आग्रह

प्रकाशित: २८ श्रावण २०८१, सोमबार १०:०९ | लेखक: मालिका खबर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र  दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युंजिन रोंङबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औं वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको भन्दै मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाई भाडा केही महंगो भएको विषयमा आम जनगुनासो रहेको ध्यानाकर्षण गराउँदै भने, ‘५० हजार भन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ । उनीहरूलाई आउजाउ गर्न प्लेन भाडा महंगो हुने गरेको गुनासो गर्नु हुन्छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस्  ।’

नेपालमा कोरियाबाट वर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको बताउँदै कोरियाका पूर्वमन्त्री युंजिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए ।