सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ ।
नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मि. लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्याइएको हो ।
प्राधिकरणले ११ केभी लाइन पुर्याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ । सुस्ताबस्तीलाई जोड्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए ।
‘सुस्ताबस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भएतापनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थियो, भारतसँग सीमाना जोडिएको सुस्ताबस्तीमा राष्ट्रिय ग्रिड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाटसमेत महत्वपूर्ण छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सीमानाका बस्तीहरु पनि छिट्टै विद्युतीकरण हुँदैछन् ।’
१ करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९–०८० मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो ।
प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ ।