सहकारी ठगी प्रकरण : तीन अभियुक्तको बयान र थुनछेक बहस छैटौँ दिनसम्म जारी

काठमाडौँ : ललितपुरमा चर्चित मितेरी सहकारी ठगी प्रकरणमा संलग्न भनिएका तीन अभियुक्तमाथि अदालतमा बयान र थुनछेक बहस लगातार छैटौँ दिनसम्म जारी छ। यो मुद्दा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको भन्दै अझै चर्चामा रहेको छ।
ललितपुर जिल्ला अदालतकी न्यायाधीश निर्मला योङयाको इजलासमा सुनुवाइ भइरहेको छ। मुद्दा भदौ १ गते दर्ता भएको थियो भने भदौ २ गतेदेखि बयान प्रक्रिया सुरु भएको हो। बयान सकिए पनि थुनछेक बहस लामो भएको कारण प्रत्येक दिन हेर्दाहेर्दैमा राखेर सुनुवाइ अघि बढाइँदै आएको छ।यस प्रकरणमा ८ जना प्रतिवादी छन्। तर प्रहरीले हालसम्म ३ जनामात्र पक्राउ गरी अदालतमा पेश गरेको छ। पक्राउ परेकामध्ये बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्री छन्। उनीहरूलाई थुनामै राखेर मुद्दा चलाउने कि साधारण तारेखमा बाहिर राख्ने भन्ने विषयमा बहस भइरहेको छ।
त्यसैगरी, ५ जना अझै फरार छन्। फरार हुनेहरूमा धनराज गुरुङकी पूर्वपत्नी तथा स्याङ्जाकी ४७ वर्षीया ज्योति गुरुङ, त्यहीँका ८१ वर्षीय कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भनिने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षीय अर्जुन अराम रहेका छन्।
उनीहरूविरुद्ध ठगी, लिखत कसुर, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतका अपराध तथा संगठित अपराध सम्बन्धी मुद्दा चलाइएको छ। यी मुद्दाहरू गम्भीर प्रकृतिका भएकाले अदालतमा बहस लामो समयसम्म तानिएको बताइन्छ।
अदालत प्रशासनका अनुसार, अभियुक्त संख्या कम भए पनि विभिन्न कानूनी मुद्दा धेरै भएकाले थुनछेक बहस छोटो समयमा टुंगो लाग्न नसकेको हो। अदालतले अबको केही दिनभित्र प्रतिवादीहरूको थुनछेक सम्बन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ।