Online News Portal

संसद्‌मा विधेयक रोकियो

प्रकाशित: १३ श्रावण २०८१, आईतवार १५:२७ | लेखक: मालिका खबर

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव अघि बढ्न सकेन।

बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो। छलफलमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन्। मन्त्री भट्टराईले समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिष्कृत गर्न सकिने धारणा राखिन्।

गणपूरक संख्या नपुगेको भनी सांसद सन्तोष परियारले नियमापत्ति गरेका थिए। गणपूरक संख्या गणना गर्दा प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना हुनुपर्नेमा ६७ जना सांसद मात्रै उपस्थित रहेकाले उक्त प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए।