संसदमा विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, राजनीतिक प्रतिशोधको आरोप
काठमाडौं: नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति संसदमार्फत कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री बालेन्द्र साहको हालैको अभिव्यक्ति र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा भएको पक्राउबारे सरकारको आलोचना गरे।

कँडेलले जेठ १७ गते संसदको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै यस्तो विषय सम्बन्धित पक्षले समेत नउठाएको अवस्थामा संसदमा उठाइनु गम्भीर भएको बताए। उनले उक्त अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरे।
विष्णु पौडेल निर्दोष रहेको दाबी गर्दै कँडेलले सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न र अन्तर्राष्ट्रिय निकाय एफएटीएफलाई देखाउनका लागि उच्च तहका नेतामाथि कारबाहीको नाटक गरेको आरोप लगाए। उनले यस कदमको उद्देश्य एमालेलाई बदनाम गर्नु रहेको दाबी गरे।
सम्पत्ति शुद्धीकरण अभियोगमा गरिएको पक्राउलाई उनले राजनीतिक प्रतिशोध र विपक्षीलाई तर्साउने रणनीतिका रूपमा व्याख्या गर्दै पौडेलको तत्काल रिहाइको माग गरे।
सांसद कँडेलले मन्त्रीहरूले सचिवालयमा नौ जनासम्म सल्लाहकार तथा निजी सचिव नियुक्त गर्न पाउने तयारी भइरहेको भन्ने समाचारप्रति पनि आपत्ति जनाए। यस्तो व्यवस्था लागू भए त्यसलाई ‘नीतिगत भ्रष्टाचार’ को पराकाष्ठा हुने उनको भनाइ थियो।
उनले सरकारले वास्तविक दोषीलाई उन्मुक्ति दिने, करसम्बन्धी सूचना चुहाएर बिचौलियालाई फाइदा पुर्याउने र प्रधानमन्त्री कार्यालय मातहतका छानबिन निकायलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न खोजेको आरोप समेत लगाए।