शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उच्च पदका लागि आवेदन खुला
काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। पदाधिकारी छनोट तथा नाम सिफारिस समितिले योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
समितिले जेठ ५ गते स्वीकृत “शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३” अनुसार आवेदन प्रक्रिया अघि बढाएको जनाएको छ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले कार्यविधिको अनुसूची–१ बमोजिमको ढाँचामा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ।
अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यालय खुलेको दिन आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सम्बन्धित कार्यविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
उपकुलपतिका लागि तोकिएका योग्यता
उपकुलपति पदका लागि उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासम्बन्धी विषयमा विद्यावारिधि, डीएम, एमसीएच वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै विश्वविद्यालयमा प्राध्यापक पदमा कम्तीमा १० वर्ष काम गरेको अनुभव अनिवार्य गरिएको छ।
त्यस्तै शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको हुनुपर्ने उल्लेख छ।
उम्मेदवारले आवेदन दिने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा गरेको, विश्वविद्यालयसँग स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको र कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने शर्त पनि राखिएको छ।
रजिस्ट्रार पदका लागि यस्ता छन् मापदण्ड
रजिस्ट्रार पदका लागि भने मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारले समकक्षी समीक्षित वा र्याङ्क्ड जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्रीको प्रतिलिपि पेश गर्नुपर्नेछ। साथै सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा विश्वविद्यालयसँग स्वार्थ नबाझिएको स्वघोषणा पत्र समेत पेश गर्नुपर्ने जनाइएको छ।
यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।