विभागको सुझावलगत्तै सीजीको एक्सन, विवादित ब्याच बजारबाट पूर्ण रूपमा फिर्ता
काठमाडौं : सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटि देखाएका निश्चित ब्याच नम्बरका चाउचाउ बजारबाट फिर्ता लिएको जनाएको छ। कम्पनीले उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै विभागको निर्देशनलगत्तै सम्बन्धित उत्पादन फिर्ता गर्ने प्रक्रिया पूरा गरेको जनाएको हो।
विभागले गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2D (२०८३/०१/११), वाइवाइ फुल मिल इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–2026–05–14, प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2,C (२०८३/०१/२८) तथा मामा इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–2026–05–13 मा गुणस्तरसम्बन्धी त्रुटि औंल्याएको थियो।
सीजी फुड्सले विज्ञप्तिमार्फत ती ब्याचका उत्पादन तत्काल बजारबाट हटाइसकिएको र हाल बजारमा उपलब्ध अन्य उत्पादनहरू गुणस्तर परीक्षणबाट सुनिश्चित भएकाले उपभोक्ताले अनावश्यक भ्रममा पर्नु नपर्ने जनाएको छ।
कम्पनीका अनुसार गुणस्तरमा देखिएको समस्या बर्दियास्थित उत्पादन प्लान्टबाट उत्पादित सीमित ब्याचमा मात्र देखिएको थियो, जसको वितरण पनि सीमित क्षेत्रमा भएको थियो। समस्या पहिचान भएपछि आवश्यक सुधार तथा फिर्ता प्रक्रिया तत्काल लागू गरिएको कम्पनीको दाबी छ।
विज्ञप्तिमा सीजी फुड्सले विगत साढे चार दशकदेखि आफ्ना उत्पादनको गुणस्तरप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उपभोक्ताको विश्वासलाई सबैभन्दा ठूलो प्राथमिकता दिएको जनाएको छ। सामान्य प्रकृतिका त्रुटिमा समेत कुनै सम्झौता नगर्ने नीति कम्पनीले अवलम्बन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ।
साथै, नेपालका अन्य बजारमा उपलब्ध सीजी फुड्सका उत्पादनहरूमा कुनै समस्या नरहेको कम्पनीले स्पष्ट पारेको छ। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिन सक्ने भ्रामक सूचनामा विश्वास नगर्न कम्पनीले उपभोक्तासँग आग्रह गरेको छ।