Online News Portal

विकास हाइड्रोपावरको आईपीओ आवेदन खुला: २९ लाख कित्ता सेयर निष्कासन, कम्पनीको वित्तीय अवस्था कस्तो छ?

प्रकाशित: १८ असार २०८२, बुधबार ०६:१२ | लेखक: मालिका खबर

काठमाडौँ :विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज (असार १८) देखि आईपीओ आवेदन खुला गरेको छ। कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको छ। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ भने अन्तिम आवेदन मिति असार २२ गतेसम्म तोकिएको छ। आवेदन मेरोसेयर पोर्टल वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिनेछ।

कम्पनीले इक्रा नेपालबाट ‘बीबीबी माइनस’ ग्रेड पाएको छ, जसले मध्यमस्तरको दायित्व बहन क्षमता जनाउँछ। विकास हाइड्रोपावरले गोरखाको धार्चेमा ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ। परियोजनाको कुल लागत १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको छ।

वित्तीय विवरणअनुसार, कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा, नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा र सञ्चित नाफा १ करोड २८ लाख रुपैयाँ रहेको छ।