रुबी साह हत्या प्रकरण : मुख्य आरोपी लक्ष्मणको मृत्यु

काठमाडौँ : रौतहटको चर्चित रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
जिल्ला प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे रौतहटको माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक लक्ष्मण पासवान गम्भीर रूपमा जलेको अवस्थामा फेला परेका थिए।
स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानबाट उनले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाह प्रयास गरेको पुष्टि भएको छ।
गम्भीर घाइते अवस्थामा भेटिएका पासवानलाई तत्काल उद्धार गरी काठमाडौं ल्याइएको थियो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिएका छन्।
गत शनिबार गौर बजार जान भन्दै डेराबाट निस्किएकी २२ वर्षीया रुबी साह मृत फेला परेकी थिइन्। उनको शव सुटकेसमा प्याक गरिएको अवस्थामा रौतहटमा भेटिएको थियो।
यस प्रकरणमा लक्ष्मण पासवानलाई प्रहरी अनुसन्धानको क्रममा मुख्य आरोपीका रूपमा पहिचान गरिएको थियो। उनले सो अपराधमा संलग्न भएको प्रारम्भिक रूपमा स्वीकारेको समेत प्रहरी स्रोतले जनाएको छ।
मुख्य आरोपीकै मृत्यु भएपछि अब यस प्रकरणको कानुनी प्रक्रिया जटिल बनेको छ। प्रहरीको भनाइअनुसार घटनाबारे थप अनुसन्धान जारी राखिने भए पनि अभियुक्तको अनुपस्थितिले मुद्दा कमजोर बन्ने सम्भावना देखिएको छ।
रुबी साहको निर्मम हत्या र त्यसपछिका घटनाले स्थानीय समाज मात्र नभई देशभरै आक्रोश र चासो बढाएको छ। पीडित परिवार अझै न्यायको प्रतीक्षामा छन्। तर, मुख्य आरोपीकै मृत्युले उनीहरूको आशा फेरि अनिश्चिततामा परेको छ।