Online News Portal

‘यो मन त मेरो नेपाली हो’ फिल्मले राष्ट्रियता र पहिचान जोगाउने सन्देश दिन खोजिएको निर्देशक प्रधानको भनाइ

प्रकाशित: २२ असार २०८२, आईतवार ०७:१५ | लेखक: मालिका खबर

काठमाडौं:  निर्देशक मित्र प्रधानले फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्य राखिएको बताएका छन्। शुक्रवारदेखि देशभर प्रदर्शनमा आउन लागेको यो फिल्म भुटानबाट नेपाल हुँदै तेस्रो देश पुनर्वासमा गएका नेपालीहरूको संघर्ष र नेपालीपन बचाउने प्रयासको कथा हो।

शरणार्थीको रूपमा नेपाल आएका प्रधानको पढाइ नेपालमै भयो। पछि अमेरिका पुगेका उनले त्यहाँ बसेर पनि नेपाली साहित्य र संस्कृतिको प्रचारप्रसार गरिरहेका छन्। उनले लेखेको पुस्तक ‘द हिमालयन: माइ जर्नी फ्र‍म भुटान टु अमेरिका’ पनि त्यही अनुभवमा आधारित छ।

फिल्मको कथा केवल भुटानी नेपालीहरूको मात्र नभई सम्पूर्ण नेपाली समुदायको साझा कथा भएको उनको भनाइ छ। “हिजोका दिनमा दुःख पाए पनि अबका पुस्ताले त्यो दुःख भोग्न नपरोस् भन्ने सन्देश दिन चाहिएको हो,” प्रधानले भने।

उनका अनुसार, बुबा-आमाले जोगाएर ल्याएको पहिचान नयाँ पुस्ताले नबिर्सुन भनेर फिल्म बनाइएको हो। “नेपालबाट विश्वभर छरिएर गएका नेपालीको मन नेपाली नै छ भन्ने सन्देश दिन खोजिएको छ,” उनले थपे।

सन् २०१४ देखि फिल्मको रिसर्च सुरु गरेका प्रधानका अनुसार पुस्तक लेखनभन्दा फिल्म निर्माण निकै कठिन प्रक्रिया भए पनि फिल्मले छोटो समयमा धेरैलाई शिक्षा दिन सक्ने क्षमताको उपयोग गर्न खोजिएको छ।

उनले यसअघि बनेका भुटानी नेपालीका कथावस्तुमा आधारित फिल्महरू हेरे पनि ‘यो मन त मेरो नेपाली हो’ सम्पूर्ण नेपालीको साझा कथामा आधारित भएकाले पृथक रहेको दाबी गरे।