Online News Portal

मन्त्री र मेयर समूहको विवादका कारण नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित

प्रकाशित: ३० फाल्गुन २०८१, शुक्रबार ०७:१७ | लेखक: मालिका खबर

काठमाडौँ: धादिङ जिल्लाको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको छ।

 

 

निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले राजीनामा दिएपछि क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो। क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को परम्परागत वर्चस्व रहेको छ, तर यस पटक नेविसंघभित्र दुई गुट देखा परेका छन्।

एक पक्षको नेतृत्व मन्त्री रामनाथ अधिकारी निकट राजन अधिकारीले गरेका छन् भने अर्को पक्ष मेयर भीम ढुङ्गाना समर्थित भावना अर्यालको छ। दुवै पक्षले आधिकारिक उम्मेदवार दाबी गरेपछि विवाद उत्पन्न भएको थियो। निर्वाचन समितिले आधिकारिकताको विषयमा स्पष्टता खोज्दा पनि दुईवटा धार देखिएपछि संयोजक अधिकारीले राजीनामा दिएका थिए। यस परिस्थितिमा निष्पक्ष निर्वाचन सम्भव नदेखिएकाले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जनाएका छन्।