Online News Portal

मखनमा ग्यास विस्फोटबाट आगलागी, नाङ्लो पसले महिलाको मृत्यु

प्रकाशित: १ जेष्ठ २०८२, बुधबार ०५:५९ | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा बुधवार बिहान ६:५० बजे खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको छ।

 

 

दयाराम श्रेष्ठको चारतले घरमा सुरु भएको आगो छिमेकी रुकेश श्रेष्ठको घरमा समेत फैलिएको थियो। आगलागीमा परेर चौथो तलामा बस्ने करिब ६५ वर्षीया महिला, जो नाङ्लोमा सामान बेच्ने काम गर्थिन् र स्थानीयहरूबीच ‘चरिकोटे बुढी’ भनेर चिनिन्थिन्, को मृत्यु भएको छ। उनी दोलखाको चरिकोटकी बासिन्दा थिइन्।

घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। जनसेवा प्रहरी वृत्तका डीएसपी कृष्णकुमार चन्दको नेतृत्वमा तीन जनालाई—एक महिला, एक पुरुष र एक बालक—उद्धार गरिएको छ। आगो बिहान सवा ८ बजे नियन्त्रणमा आएको हो।