Online News Portal

भक्तपुरमा खुला बुद्धिचाल प्रतियोगिता: ८ वर्षदेखि ६८ वर्षसम्मका खेलाडीहरूको सहभागिता

प्रकाशित: ११ जेष्ठ २०८२, शनिबार ०६:०४ | लेखक: मालिका खबर

काठमाडौँ : भक्तपुरको गोल्मढीमा आयोजित स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगितामा ८ वर्षदेखि ६८ वर्षसम्मका १२७ खेलाडीहरूले सहभागिता जनाएका छन्। भक्तपुर युवा टिमको आयोजनामा भएको यो प्रतियोगितामा भारत र इङ्ग्ल्याण्डबाट समेत खेलाडीहरू सहभागी भएका छन्।

 

 

प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने छ, जसमा पहिलो दिन पाँच राउण्ड सम्पन्न भइसकेको छ भने दोस्रो दिन चार राउण्ड खेलिनेछ।

प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले गरेका थिए। उनले बुद्धिचाललाई बौद्धिक खेलको रूपमा वर्णन गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीहरू उत्पादन गर्नुपर्नेमा जोड दिए।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५,०००, दोस्रो हुनेलाई रु १५,०००, तेस्रो हुनेलाई रु १०,०००, चौथो हुनेलाई रु ८,०००, पाँचौं हुनेलाई रु ६,००० र सान्त्वना पुरस्कारस्वरूप रु ५,००० नगद प्रदान गरिनेछ।

यो प्रतियोगिता स्वर्गीय त्रिरत्न ग्वाछाको स्मृतिमा आयोजित गरिएको हो, जसमा विभिन्न उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ।