Online News Portal

पूर्वराष्ट्रपति डा. यादव: “गौतम बुद्धका सन्देश आज पनि सबैका लागि मार्गदर्शक छन्”

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतम बुद्धका सन्देशहरू आजको परिवर्तित समयमा पनि सबै व्यक्तिका लागि जीवन उपयोगी रहेको बताएका छन्। उनले बुद्धका सन्देशहरूलाई देश-विदेशमा फैलाउन सबै पक्ष र क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

काभ्रे सेवा समाजद्वारा आयोजित बुद्धजयन्तीको अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौतीदेखि नमोबुद्धसम्म आयोजित बृहत् शान्ति पदयात्राको उद्घाटन गर्दै डा. यादवले शान्ति र सद्भावको सन्देश फैलाउने यस्ता कार्यक्रमहरू आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत सहयोगी हुने बताए।

समाजका अध्यक्ष पुरुषोत्तम नेपालका अनुसार, गौतम बुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखि सुन्थान, ईंटे, शङ्खु, शङ्खेश्वरी, जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो। यस पदयात्रामा पाँच सयभन्दा बढी सहभागी थिए। समाजले यसअघि २०८० असोजमा पनि सोही मार्गमा पदयात्रा आयोजना गरेको थियो।