‘नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन’ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको व्यवस्था नगरेको स्पष्ट रूपमा बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यो विषयमा विद्यमान कानुनी अवस्था प्रष्ट्याउँदै विशेष गरी गोरखा भर्तीका सन्तानको नागरिकताबारे उठेका प्रश्नको जवाफ दिएका हुन्।
बैठकमा सांसदहरूले गोरखा भर्तीका सन्तानलाई वंशजको आधारमा नेपालको नागरिकता दिनुपर्ने माग गरेका थिए। तर मन्त्री लेखकले स्पष्ट पारे, “नेपालले दुई देशको नागरिकता दिन सक्दैन। यदि कुनै नेपाली नागरिकले अर्को देशको नागरिकता लिन्छ भने नेपालको नागरिकता स्वतः समाप्त हुन्छ।”
उनका अनुसार, विदेशी नागरिकता प्राप्त गरेपछि पुनः नेपालको नागरिक बन्न चाहने व्यक्तिले सो देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्छ। “अर्को देशको नागरिकता छोडेर आवश्यक सबै डकुमेन्ट ल्याएर नेपालमा दर्ता गरेपछि त्यही दिनदेखि नेपालको नागरिकता पुनः कायम हुन्छ,” उनले भने।
मन्त्री लेखकले संविधानमा दोहोरो नागरिकताको अवधारणा नै नभएकाले यदि भविष्यमा यस्तो अनुमति दिनु पर्ने आवश्यक देखियो भने संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने बताए।
यस बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल पनि भएको थियो। छलफलका क्रममा उनले माताको नामबाट पनि सहज रूपमा नागरिकता दिन सक्ने प्रावधान राख्नुपर्नेमा जोड दिए। “आमाले घोषणा गरेर ‘यो मेरो सन्तान हो’ भने नागरिकता दिनुपर्छ। आमाको नागरिकता प्रमाणित भयो भने छोराछोरीलाई नागरिकता दिन कुनै अवरोध हुनु हुँदैन,” उनले भने।
उनले यसबारे कानुनी स्पष्टता राख्न सांसदहरूलाई आग्रह गर्दै थपे, “यदि हामीले अनुमान नगरेका केही कानुनी खालका अवरोध छन् भने त्यस्ता प्रावधान पनि राखौँ, ताकि माताको नामबाट नागरिकता दिने प्रक्रिया सरल र व्यवहारिक बनोस्।”
बैठकमा सांसदहरूले नागरिकता सम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन, गोरखा भर्तीका सन्तानको अधिकार सुनिश्चित गर्न र विदेशमा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्न सुझाव दिएका थिए।