Online News Portal

डेंगु जोखिम बढ्दो, नियन्त्रणमा सरकार–नागरिक दुवैको सक्रियता आवश्यक

प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार ०६:२२ | लेखक: मालिका खबर

काठमाडौं : गर्मीसँगै वर्षा हुन थालेपछि देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा लामखुट्टे देखिन थालेपछि स्वास्थ्य विज्ञहरूले सम्भावित महामारीप्रति सचेत रहन आग्रह गरेका छन्। तर डेंगु फैलाउने लामखुट्टे नियन्त्रणमा सरकार र नागरिक दुवै पक्षबाट अपेक्षित सक्रियता नदेखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा हरेक २–३ वर्षको अन्तरालमा डेंगुले महामारीको रूप लिने गरेको तथ्यांक छ। यही प्रवृत्तिलाई आधार मान्दा आगामी दिनमा फेरि ठूलो डेंगु प्रकोप देखिन सक्ने जोखिम रहेको उनको भनाइ छ।

नेपालमा सन् २०२२ मा हालसम्मकै सबैभन्दा ठूलो डेंगु महामारी फैलिएको थियो। उक्त समयमा ८८ जनाको मृत्यु भएको र ५४ हजारभन्दा बढी संक्रमित भएको सरकारी तथ्यांक छ। यद्यपि वास्तविक संक्रमित संख्या त्योभन्दा धेरै बढी रहेको अनुमान गरिएको  छ।

विशेषज्ञहरूका अनुसार डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि रोक्नु हो। त्यसका लागि घर तथा वरिपरि पानी जम्ने स्थान हटाउन आवश्यक छ। पुराना टायर, ड्रम, प्लास्टिकका भाँडा, गमला तथा पानी जम्ने अन्य वस्तु लामखुट्टे बढ्ने मुख्य स्थान बन्ने गरेका छन्।

डा. पुनले मनसुन सुरु हुनुअघि नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। समयमै नियन्त्रण नगरेपछि लामखुट्टे नियन्त्रण कठिन हुने विगतको अनुभव रहेको उनले उल्लेख गरेका छन्।

डेंगु फैलाउने एडिस जातको लामखुट्टे दिनमा बढी सक्रिय हुने भएकाले विद्यालय, कलेज, कार्यालय तथा भीडभाड हुने स्थानमा संक्रमणको जोखिम उच्च रहने बताइएको छ। त्यसैले यस्ता क्षेत्रमा विशेष सरसफाइ र पानी जम्ने ठाउँको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

सडक निर्माण तथा मर्मतका क्रममा बनेका खाल्डाखुल्डीमा लामो समय पानी जम्दा पनि लामखुट्टे फैलन सहज हुने गरेको छ। विज्ञहरूले विकास निर्माणसँगै सरसफाइ र पानी निकास व्यवस्थापनमा पनि ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।

पछिल्लो समय घरघरमा करेसाबारी र फूलका गमला राख्ने चलन बढेसँगै त्यहाँ जम्ने पानी पनि लामखुट्टेको प्रजननस्थल बन्न थालेको छ। त्यसैले गमला तथा बगैंचामा पानी लामो समय नराख्न आग्रह गरिएको छ।

त्यस्तै, ग्यारेजहरूमा थुप्रिएका पुराना टायरमा वर्षाको पानी जम्दा डेंगु फैलाउने लामखुट्टे बढ्ने विभिन्न अध्ययनले देखाएको छ। यसकारण त्यस्ता स्थान वरिपरि नियमित सरसफाइ गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

विशेषज्ञहरूले डेंगु फैलिसकेपछि नियन्त्रणभन्दा फैलनुअघि रोकथाम प्रभावकारी हुने बताएका छन्। डेंगुको निश्चित औषधि नहुँदा लामखुट्टेको वृद्धि रोक्नु नै सबैभन्दा सुरक्षित उपाय भएको उनीहरूको निष्कर्ष छ।