Online News Portal

गिल–राहुलको संयमित ब्याटिङ, भारत २ विकेट गुमाएर १७४ मा, शतक नजिक

प्रकाशित: १२ श्रावण २०८२, आईतवार ०५:१६ | लेखक: मालिका खबर

काठमाडौँ : भारत र इङ्ग्ल्यान्डबीच एन्डरसन–तेण्डुलकर ट्रफी २०२५ अन्तर्गतको चौथो टेस्ट खेल म्यानचेस्टरको ओल्ड ट्राफर्ड मैदानमा जारी छ।

खेलको चौथो दिन भारतीय टिमले दोश्रो इनिङ्समा २ विकेटको क्षतिमा १७४ रन बनाएको छ। ओपनर यशस्वी जयस्वाल र साई सुदर्शन सुरुवातमै शून्यमा आउट भए पनि त्यसपछि आएका केएल राहुल र शुभमन गिलले पारी सम्हाल्दै भारतलाई संकटबाट बाहिर निकाल्ने प्रयास गरेका छन्।

राहुल ८७ रनमा र गिल ७८ रनमा क्रिजमा अविजित छन्। भारत अझै इङ्ग्ल्यान्डको पहिलो इनिङ्सको ३११ रनको अग्रता भन्दा १३७ रनले पछि छ।

यसअघि इङ्ग्ल्यान्डले आफ्नो पहिलो इनिङमा विशाल ६६९ रन बनाएको थियो। भारतले पहिलो इनिङमा ३५८ रन मात्र बनाएको थियो।

पाँच खेलको टेस्ट श्रृङ्खलामा इङ्ग्ल्यान्ड हाल २–१ ले अगाडि रहेको छ। चौथो खेलमा भारत जित निकाल्ने प्रयासमा छ, जसका लागि राहुल–गिलको साझेदारी निर्णायक बन्न सक्ने देखिएको छ।