Online News Portal

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पाँच रङका सिट जडान, प्यारापिट आकर्षक हुँदै

प्रकाशित: २२ असार २०८२, आईतवार ०७:०३ | लेखक: मालिका खबर

काठमाडौँ : कीर्तिपुर — त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति अन्तर्गत प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित फागुनदेखि सुधार कार्य अघि बढाइएको हो।

यो प्रोजेक्टअन्तर्गत रातिमा पनि खेल सञ्चालन गर्न सक्ने गरी रंगशालामा आठ वटा फ्लडलाइट जडान तथा १० हजार दर्शक अट्ने प्यारापिट निर्माणको काम भइरहेको छ।

निर्माणको जिम्मा लिएको बिजी कन्स्ट्रक्सन कम्पनीका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पाँच विभिन्न रङ — पहेँलो, सेतो, खैरो, हरियो र नीलो — का कुर्सी जडान गरिँदै छन्। मैदानको पश्चिम र पूर्वतर्फ आठ खण्डमा बाँडिएको प्यारापिटमा प्रत्येक खण्डमा ६५२ सिट रहनेछन्।

यस प्रोजेक्टपछि कीर्तिपुर रंगशालामा दर्शक व्यवस्थापन, प्रकाश सुविधा र पूर्वाधारमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार आउने अपेक्षा गरिएको छ।