Online News Portal

इलाममा परम्परागत बाली र जैविक कृषिबारे छलफल: संरक्षण र प्रवर्द्धनमा जोड

प्रकाशित: २८ बैशाख २०८२, आईतवार ०३:५० | लेखक: मालिका खबर

काठमाडौँ : इलाम जिल्लामा परम्परागत (रैथाने) बाली र जैविक कृषिको संरक्षण तथा प्रवर्द्धनबारे चासो बढ्दै गएको छ। राष्ट्रिय कृषक समूह महासङ्घ, इलाम नगर समितिको आयोजनामा हालै “कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली प्रवर्द्धनको औचित्य” विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले ध्यान दिनुपर्ने बताएका थिए।

 

 

 

इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले जलवायु परिवर्तनसँग अनुकूल हुने बालीको महत्व तीन तहका सरकारले बुझ्न आवश्यक रहेको बताए। इलाम नगरपालिकाका प्रवक्ता नतनदेव दुलालले स्थानीय सरकारले रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। होमस्टे सञ्चालकलाई रैथाने परिकार बनाउने तालिमले कृषि पर्यटनलाई प्रोत्साहन दिएको छ।

रैथाने बालीहरू, जस्तै कोदो, फापर, चिनो, उवा, जौँ, कागुनो आदि, पोषणतत्वमा प्रचुर छन् र कम मल तथा पानीमा पनि राम्रो उत्पादन दिन्छन्। जलवायु परिवर्तनसँग अनुकूल हुने यी बालीहरूको संरक्षणले खाद्य सुरक्षा र जैविक विविधता कायम राख्न मद्दत पुर्याउने प्रवक्ता दुलालको भनाइ छ।

किसान रविन सापकोटाले स्थानीय किसान, सरकार र विभिन्न निकायले मिलेर रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाउन आवश्यक रहेको बताए। राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले जैविक खेती र रैथाने बालीको संरक्षणका लागि सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।