इबोलाको कहरः कंगोमा ८० जनाको ज्यान गयो, विश्व स्वास्थ्य सङ्गठन सतर्क
काठमाडौँ : अफ्रिकी मुलुक Democratic Republic of the Congo को पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ। त्यस्तै, २४६ वटा शंकास्पद सङ्क्रमणका घटना फेला परेको जनाइएको छ।
विश्व स्वास्थ्य सङ्गठन World Health Organization (डब्लुएचओ) ले इबोलाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै यस अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकालको रूपमा घोषणा गरेको छ। यद्यपि, हालको अवस्थालाई भने महामारीको श्रेणीमा नराखिएको स्पष्ट गरिएको छ।

कंगोका स्वास्थ्यमन्त्री Samuel Roger Kamba का अनुसार यस पटकको सङ्क्रमण पहिलो पटक एक नर्समा देखिएको अनुमान गरिएको छ। ती नर्सको गत अप्रिल २४ मा मृत्यु भएको थियो।
स्वास्थ्य अधिकारीहरूले गरेको परीक्षणमा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भइसकेका छन्। संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रमा निगरानी, उपचार र जनचेतना अभियानलाई तीव्र बनाइएको बताइएको छ।