Online News Portal

अपाङ्गता रोकथाम कार्यक्रमको बजेट कटौतीप्रति राष्ट्रिय अपाङ्ग महासंघको विरोध, आन्दोलनको चेतावनी

प्रकाशित: १० असार २०८२, मंगलवार ०५:४३ | लेखक: मालिका खबर

काठमाडौँ : कोशी प्रदेश सरकारले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको बजेट घटाएपछि राष्ट्रिय अपाङ्ग महासंघले आपत्ति जनाएको छ। महासंघले बजेट कटौतीले कार्यक्रमको मूल उद्देश्य कमजोर बनाउने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ र माग सम्बोधन नभए अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिएको छ।

 

 

महासंघले पत्रकार सम्मेलन गर्दै २०८२ असार ११ गतेदेखि आन्दोलन सुरु हुने जनाएको छ। बजेट कटौतीले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा प्रतिकूल असर पार्ने र उनीहरूको सशक्तीकरण, उपचार, सहायक सामग्री वितरण, स्वरोजगार, र स्थानिय तहसँगको सहकार्य कमजोर हुने बताइएको छ।

महासंघले सातवटा ठोस माग राखेको छ, जसमा ७३ स्थानीय तहमा प्रस्तावित बजेट यथावत् राख्ने, नीतिगत दिगोपनाको व्यवस्था, करुणा फाउण्डेशनको लगानी निरन्तरताको ग्यारेन्टी, कार्यान्वयन निर्देशिका संशोधन, मार्गदर्शन कार्यविधिमा रूपान्तरण, अपाङ्गता भएका व्यक्तिको अनिवार्य नियुक्ति, र अपाङ्गता सहायता कक्ष सुदृढिकरणको माग छन्।

महासंघले प्रदेश सरकारको यो निर्णयलाई कानुन, संविधान र अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लंघन भन्दै विरोध जनाएको हो।