अनुदान र आधुनिक प्रविधिले फेरियो चुलाचुलीको खेती, मकैबाट किसानको आम्दानी बढ्दै
काठमाडौँ : केही वर्षअघिसम्म घरायसी उपभोगका लागि मात्रै सीमित रहेको मकैखेती अहिले इलामको चुलाचुली गाउँपालिकामा किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ। स्थानीय सरकारको अनुदान, उन्नत जातको बीउ, प्राविधिक सहयोग र सुनिश्चित बजार व्यवस्थापनका कारण यहाँका किसान व्यावसायिक मकैखेतीतर्फ आकर्षित भएका हुन्।

चुलाचुली गाउँपालिका–४ का किसान अशोक राई यसको उदाहरण हुन्। पहिले सानो क्षेत्रफलमा परिवारको आवश्यकता पूरा गर्न मात्रै मकै लगाउने उनले अहिले गाउँपालिकाको सहयोगपछि आठ कट्ठा जमिनमा व्यावसायिक खेती विस्तार गरेका छन्। उनका अनुसार उन्नत बीउ र प्राविधिक सहयोगले उत्पादनसँगै आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ।
गाउँपालिकाले सञ्चालन गरेको ‘कृषि जोन कार्यक्रम’ अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा ५० प्रतिशत लागत साझेदारीमा ‘टिएक्स–३६९’ जातको हाइब्रिड मकैको बीउ वितरण गरेको थियो। यस कार्यक्रमबाट करिब ७०० किसान लाभान्वित भएका छन्। किसानलाई कुल ६ हजार ४५६ किलोग्राम बीउ उपलब्ध गराइएको थियो भने प्रत्येकले बढीमा १६ किलोग्रामसम्म बीउ प्राप्त गरेका थिए।
कृषि विकास शाखाका प्रमुख सुवास दाहालका अनुसार वडा नं. १ देखि ६ सम्मका किसानलाई करिब ४१ लाख ९६ हजार रुपैयाँ बराबरको बीउ वितरण गरिएको हो। यसमध्ये आधा रकम गाउँपालिकाले अनुदानस्वरूप व्यहोरेको थियो भने बाँकी लागत किसानले आफैँ जुटाएका थिए।
हाल चुलाचुलीमा १०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक मकैखेती भइरहेको छ। यहाँबाट वार्षिक करिब २४२ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ। उत्पादन वृद्धि भएसँगै किसानको आयआर्जनमा समेत सकारात्मक प्रभाव परेको गाउँपालिकाको दाबी छ।
बीउ वितरणसँगै किसानलाई प्राविधिक परामर्श, तालिम, कृषि सामग्री तथा यान्त्रीकरणमा समेत सहयोग गरिएको दाहालले बताए। उनका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादन लागत घटाएको छ भने उत्पादकत्व बढाउन सहयोग पुगेको छ।
चुलाचुली–४ का किसान टिके बुङक्षेन राईका अनुसार अहिले मकैखेती परिवारको मुख्य आयस्रोत बनेको छ। मकै बिक्रीबाट आएको आम्दानीले घरखर्च चलाउनुका साथै बालबालिकाको शिक्षामा समेत सहयोग पुगेको उनले बताए।
व्यावसायिक खेती विस्तारसँगै गाउँपालिकाका बाँझो जमिन पुनः खेतीयोग्य बनेका छन्। अहिले अधिकांश खेतबारी हराभरा मकैबालीले ढाकिएका छन् भने कतिपय क्षेत्रमा मकै पाक्न थालेको छ।