Online News Portal

हुलाक बचत बैंकमा रहेका खाताहरू राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

काठमाडौँ : हुलाक बचत बैंकमा रहेका खाताहरू राष्ट्रिय वाणिज्य वैंकमा स्थानान्तरण हुने भएको छ । सरकारको आव ०८०/८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो ।

सम्झौतामा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरूको ऋण लगानीका खाताहरू विभागले बैंकका विभिन्न शाखा कार्यालयहरूमार्फत २८ असारभित्रमा विवरण हस्तान्तरण गर्ने उल्लेख छ ।
हुलाक बचत बैंकका निक्षेपकर्ताले राष्ट्रिय वाणिज्य बैंकका नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता अध्यावधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गतेदेखि नै गर्न सक्ने वाणिज्य बैंकले जनाएको छ । यसरी खोलिने सम्पूर्ण खातावालालाई बैंकले चेकबुक, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा, एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आव ०३२/३३ सालदेखि सर्वसाधारणको बचत संकलन गर्ने र आव ०६०/६१ देखि ऋण लगानीसमेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप संकलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरू रहँदै आएको जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले देशका ७७ वटै जिल्लाका सबै सदरमुकामसहित दुई सय ७२ शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङलगायत विभिन्न माध्यमबाट सेवा दिइरहेको जनाएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.