स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं: स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्म स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

बोर्डका अनुसार उक्त रकम अघिल्लो आर्थिक वर्षदेखि बाँकी रहेका तथा चालु आर्थिक वर्षको पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीहरूको भुक्तानीस्वरूप सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको हो।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा प्रदान गरेका अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूले पेश गरेका दाबीहरूको मूल्यांकन र स्वीकृतिपछि बोर्डले नियमानुसार भुक्तानी गर्दै आएको जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले समयमै दाबी भुक्तानी गरेर सेवा प्रदायक संस्थाहरूको वित्तीय व्यवस्थापन सहज बनाउने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ। बोर्डले आगामी दिनमा पनि स्वीकृत दाबीहरूको भुक्तानी प्रक्रियालाई निरन्तरता दिइने उल्लेख गरेको छ।