सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौँ: सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहनुभएको छ ।
त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै सरकारले २०८१ साल साउन ९ गते बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताउँदै उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवंगत हुने व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ । उक्त दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेश गर्न गैरसैनिक हवाई उडान, २०७१ को नियम १० बमोजिम रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जहाँज आयोग गठन गर्नेनिर्णय गरेको छ । आयोगमा रतिशचन्द्रलाल सुमन, संयोजक, पूर्वमहानिर्देशक, नेपाल नागरिक उड्ययन प्राधिकरण, सदस्य दीपुराज ज्वारचन, नेपाल वायुसेवा निगमका क्याप्टेन, डा. दीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल हुनुहुन्छ ।