Online News Portal

साउन १४ देखि भदौसम्म लुम्बिनी केबलकारमा मर्निङ अफर

काठमाडौँ : साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्’– अपरेसन म्यानेजर कायस्थले भने । सोबाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ ।