Online News Portal

सप्तरीबाट हराएका चार बालबालिका कोशी ब्यारेज नजिक फेला

काठमाडौं : सप्तरी जिल्लाको तिरहुत क्षेत्रबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिका सोमबार सशस्त्र प्रहरी बलले सुरक्षित रूपमा फेला पारेको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको टोलीले उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रबाट फेला पारेको हो। नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले उनीहरूलाई सोधपुछ गरेको थियो।

फेला परेका बालबालिकामा तिरहुत गाउँपालिका–३ गोईठीका ७ वर्षीया श्रृष्टि कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षका कृष्ण सरदार रहेका छन्। सोधपुछका क्रममा उनीहरूले आफ्नो घर ठेगाना र त्यहाँ पुग्न किन हिँडेका हुन् भन्ने विषय स्पष्ट रूपमा बताउन नसकेपछि सुरक्षाकर्मीले संरक्षणमा लिएको थियो।

आफ्नै इच्छाले घरबाट निस्किएका र अलपत्र अवस्थामा भेटिएका ती बालबालिकालाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थितिमा अभिभावकको जिम्मा लगाइएको छ। प्रारम्भिक अनुमानअनुसार उनीहरूलाई कसैले ललाइ–फकाइ गरेर ल्याएको हुनसक्ने आशंका गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.