शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ ।
बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मृतकको शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए । उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोस्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए ।
शिक्षण अस्पतालमा मृतकका परिवारहरू पुगेका छन् । उनीहरू अस्पताल परिसरमा भावविह्वल अवस्थामा रहेका छन् ।