Online News Portal

विक्रम खनाललाई कारवाही गर्न अनुशासन समितिमा सञ्जय गौतमको प्रस्ताव

काठमाडौंः  आमनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारवाही प्रक्रिया अगाडि बढेको छ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार हराउन प्रत्यक्ष भूमिका खेलेको भन्दै खनालमाथि कारवाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो ।

अनुशासन समिति सदस्य सञ्जय गौतमले पार्टीमा अनुशासनहीनता बढेको र आधिकारीक उम्मेदवार हराउन खोज्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिँदै खनालमाथि समिति बैठकमा कारवाहीको प्रस्ताव गरेका थिए । अनशासन समितिले सर्वसम्मत रुपमा खनालमाथि कारवाहीका लागि प्रस्ताव गरेको हो ।
समितिले खनाललाई कारवाही गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टीमा निलम्बनको प्रस्ताव गरिसकेको छ । सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

 

समितिले आमचुनावमा पार्टीविरुद्ध उम्मेदवारी दिनेदेखि आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेल्ने विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गरेको छ। केन्द्रीय सदस्य आनन्द ढुंगानाको संयोजकत्वमा गठित पाँच सदस्यीय अनुशासन समितिमा शेखर कोइराला समूहबाट राजीव कोइराला र गौतम सदस्य बनेका हुन् । संस्थापन समूहबाट सदस्यमा ईश्वरी न्यौपाने र ध्रुव वाग्ले रहेका छन् ।
पश्चिम नवलपरासी १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरी र प्रदेश सभा उम्मेदवार देवकरण कलवार र क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउन प्रदेश महामन्त्री खनालसहितका नेताहरुको प्रत्यक्ष भूमिका रहेको आरोप लाग्दै आएको छ ।

 

खनालसहितका नेताहरुलाई कारवाहीका लागि अनुशासन समितिमा सांसद विनोद चौधरी, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, प्रदेश सभा सदस्य देवकरण कलवार सन्तु र महासमिति सदस्य लालबहादुर गुरुङले उजुरी दिएका थिए ।

Advertisement

Click the button below to skip this ad and read the full article.