रिलाइन्स स्पिनिङको आईपीओमा लगानीकर्ताको उत्साह, १ घण्टामै भरियो कोटा

काठमाडौं : रिलाइन्स स्पिनिङ मिल्स लिमिटेडको प्रिमियम मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। आईपीओ खुल्नासाथ लगानीकर्ताको उल्लेख्य सहभागिता देखिएको छ र एक घण्टाभित्रै निष्काशन गरिएको शेयर ओभर सब्सक्राइभ भएको छ।
कम्पनीका अनुसार आईपीओ खुलेको करिब ५० मिनेटमै २१ हजार ९५३ जनाले ११ लाख ५६ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन्, जुन सर्वसाधारणका लागि खुलाइएको संख्याभन्दा धेरै हो।
कम्पनीले जारी पुँजी १ अर्ब ९० लाख रुपैयाँको १०.१४ प्रतिशत बराबरको १९ करोड २६ लाख ६० हजार रुपैयाँ मूल्यको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो। यसमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेको छ।
सर्वसाधारण समूहका लागि छुट्याइएको ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई हिस्सा छुट्याएपछि बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर आम लगानीकर्ताका लागि खुला गरिएको हो।
यसअघि वैदेशिक रोजगारमा रहेका नेपाली र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परेको कम्पनीले जनाएको छ र ती समूहको शेयर बाँडफाँट सम्पन्न भइसकेको छ।
सर्वसाधारण लगानीकर्ताले ७ देखि ११ पुससम्म आवेदन दिन सक्नेछन्। प्रिमियम मूल्य तोकिएको यस आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आवेदन दिनु पर्नेछ। न्यूनतम १० कित्ताका लागि आवेदन दिन लगानीकर्तालाई ४१ हजार ४० रुपैयाँ आवश्यक पर्छ।