राष्ट्रिय सुरक्षा परिषद्लाई व्यवस्थित बनाऔँः सचेतक बराल

काठमाडौँ : नेकपा एमालेकी सचेतक सुनिता बरालले राष्ट्रिय सुरक्षा परिषद्लाई देश र जनताको सुरक्षाका लागि नेतृत्व गर्ने संस्था बनाउनुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सुरक्षा परिषद् सिंगो सुरक्षासँग जोडिएको विषय भएको भन्दै त्यहाँबाट सुरक्षा सम्बन्धी विभिन्न योजनाहरु बनाएर काम गर्न सूचनाको अभाव भएको महशुस गरेको बताउनुभएको हो । उहाँले सूचनाका लागि वा संरचनाका लागि मात्रै व्यवस्थित गर्ने नभए नागरिकमा अनुभुति हुनेगरी देश र जनताको सुरक्षाका लागि सुरक्षा निकायहरुको समग्रता नेतृत्व गर्ने संस्था बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सुरक्षा परिषद् नेपाली सेनाको लागि मात्रै हो की भन्ने बुझाइ रहेको भन्दै रक्षा मन्त्रालयअन्तर्गत रहेर सबै सुरक्षा निकायहरुलाई यसले समन्वय गर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सुरक्षा परिषद्लाई कार्यक्रम र योजनाहरु बनाइ थप व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सीमा क्षेत्रमा रहेका होल्डिङ सेन्टरको उपयोग हुन नसकेको र भएका सेन्टरहरु पनि बस्न योग्य नरहेको भन्दै व्यवस्थित गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग राष्ट्रिय सुरक्षा परिषद् छ तर राष्ट्रिय सुरक्षा परिषद् सिंगो सुरक्षासँग जोडिएको विषय हो । त्यहाँबाट हामीले सुरक्षा सम्बन्धी विभिन्न योजनाहरु बनाएर काम गर्छौं भन्नेकुरामा सूचनाको नै अभाव भएको महशुस भएको छ । यो सूचनाका लागि वा संरचनाका लागि मात्रै व्यवस्थित गर्ने होइन, यसलाई अनुभुति हुनेगरी यसलाई प्रतिरक्षात्मक होइन, रक्षात्मक बनाउने गरी यो देश र जनताको सुरक्षाका लागि हाम्रा सुरक्षा निकायहरुको समग्रता नेतृत्व गर्ने संस्था हो भन्नेकुरालाई थप स्पष्ट र व्यवस्थित गर्न जरुरी छ । यसको बुझाई नेपाली सेनाको लागि मात्रै हो की भनेजस्तो पनि छ । रक्षा मन्त्रालयअन्तर्गत रहेर सबै सुरक्षा निकायहरुलाई यसले समन्वय गर्छ भन्नेकुराको बुझाईकै अभाव हो की भन्नेकुराको अनुभुति भएको छ । यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने कुरामा ध्यान जाओस् । र कार्यक्रम बनोस् । सीमा क्षेत्रमा रहेका होल्डिङ सेन्टरहरु छन्, जुन हामीले कोभिडका बेलामा निर्माण गरेका थियौँ । आज सशस्त्र प्रहरीका संरचना सीमा रक्षाका लागि छन् । अरु विभिन्न निकायहरु छन् । ति निकायहरु सूचनाको अभावमा अलपत्र जस्तो अवस्थामा बाँसको छहारी लगाएर बस्नुपर्ने तिनीहरुलाई घाम बाहेक पानी परेको खण्डमा पनि अन्य ठाउँ खोज्नुपर्ने अवस्था छ । ति होल्डिङ सेन्टरहरु उपयोग भइरहेका छैनन् । होल्डिङ सेन्टरहरुलाई उपयोगमा ल्याउनका लागि र संरचनागत रुपमा व्यवस्थित गर्दै प्रभावकारी ढंगले यसको काममा ल्याउन रक्षा मन्त्रालयलाई अनुरोध गर्दछु ।’
सचेतक बरालले होल्डिङ सेन्टरहरुलाई उपयोगमा ल्याउन संरचनागत रुपमा व्यवस्थित गर्न रक्षा मन्त्रालयलाई आग्रह गर्नुभयो ।