काठमाडौँ,: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर एमडी, एमएस, एमएसीको पाठ्यक्रम निमार्ण गर्न आयोजीत दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
कार्यक्षमता विकास गर्न सक्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने गरी पाठ्यक्रम निर्माण गर्न मन्त्री निर्देशन दिनुभयो ।
साथै उहाँले राज्यको थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्नुपर्ने भएकाले संस्थाको विकास व्यवस्थित ढङ्गले कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ संस्था खोल्न निकै गाह्रो छ । भएका सङ्ख्याहरुको गुणस्तर नघटाई क्षमता वृद्धि गरेर लैजान उपयुक्त हुने भएकाले संस्थालाई व्यवस्थित ढङ्गले लैजानुस् ।”
सरकारी प्रतिष्ठान आफैँले पनि विदेशी विद्यार्थी कसरी ल्याउने भन्नेतर्फ ध्यान दिन उहाँले आग्रह दिनुभयो ।
त्यस्तै मन्त्रालयका सचिव रोशन पोखरेले संसारमा बिक्ने पाठ्यक्रम निर्माण गर्न निर्देशन दिनुभयो ।