Online News Portal

माटोको कला,आत्मनिर्भरताको आधार: बाजुराको बुढीगंगा नगरपालिकाको प्रेरणादायी सफलता

बाजुरा, २०८२ असार २० :  बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मेयर राम बहादुर बानियाँको अग्रसरतामा संचालित एक महिने माटोका भाडाकुँडा निर्माण तालिमले स्थानीयहरूलाई स्वरोजगारको अवसर प्रदान गरेको छ। बुढीगंगा सिप विकास र जिआईजेटको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित यो तालिमले सहभागीहरूलाई आकर्षक डिजाइनका माटोका भाडाकुँडा बनाउन सक्षम बनाएको छ।   मेयर राम बहादुर बानियाँको दूरदर्शी भिजन र स्वरोजगार तथा सीपमूलक नीतिलाई प्राथमिकता दिने प्रयासले यो तालिम सफल भएको हो। उनको नेतृत्वमा स्थानीयहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ, जसले उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ। तालिममा सहभागी भएका स्थानीयहरूले आफ्नो सीपको उपयोग गरी आयआर्जनको बाटो खोलेका छन्। मेयर बानियाँले सीप विकासलाई नगरपालिकाको विकासको आधार बनाएका छन्, जसले बुढीगंगा नगरपालिकालाई समृद्धिको मार्गमा डोर्‍याएको छ।

बुढीगंगा नगरपालिकाले स्वरोजगार र सीपमूलक नीतिलाई प्राथमिकता दिँदै बाजुराका अन्य नगरपालिकाहरूको तुलनामा आफूलाई उत्कृष्ट साबित गरेको छ। यो तालिमले स्थानीयहरूलाई जीवनोपयोगी सीप प्रदान गर्नुका साथै नगरपालिकालाई जिल्लाको विकासको नमुनाको रूपमा स्थापित गरेको छ। बाजुराका अन्य नगरपालिकाहरूले यस्ता पहलहरूमा पछाडि परेको देखिन्छ, जबकि बुढीगंगा दोस्रो पटक बोलपत्र आव्हान गरी सीप विकासका कार्यक्रमहरूलाई निरन्तरता दिएको छ।

मेयर बानियाँको नेतृत्वमा संचालित ‘बुढीगंगा विकास कचहरी कार्यक्रम’ ले पनि नगरपालिकाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। यस्ता पहलहरूले बुढीगंगा नगरपालिकालाई बाजुरा जिल्लाको एक प्रेरणादायी उदाहरण बनाएको छ। स्थानीयहरूको सीप र आत्मनिर्भरतामा जोड दिँदै यो नगरपालिकाले समृद्धिको नयाँ मार्ग पहिल्याएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.