Online News Portal

महानगरलाई न्युरोडमा फुटपाथ विस्तार गर्न बाटो खुल्यो

काठमाण्डौ :उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाण्डौ महानगरपालिकाले न्युरोडको सडक भत्काउन थालेको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट अस्ति आइतवार अन्तरिम आदेश आएपछि काम फेरि आजदेखि शुरु भएको हो । केही महिनाअघि महानगरले न्युरोडमा सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको इजलासले महानगरपालिकाको योजना तत्काल नरोक्न भन्दै अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र १६ गते महानगरपालिकालाई पठाएको पत्र यो रिटको अन्तिम टुंगो नलाग्दासम्म यथास्थितमा राख्न अन्तरिम आदेश दिएको हो ।
गत जेठमा महानगरले गत जेठमा सडकका दुवैतर्फ फुटपाथ विस्तार गर्न लाग्दा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी रोकेको थियो । महानगरले सडकका दुवैतर्फ १.५ मिटर फुटपाथ बनाउन काटेको सडक डिभिजन कार्यालयले पुरेर फेरि कालोपत्रे गरेको थियो ।

सडक डिभिजनले आफ्नो कार्यक्षेत्रको सडक भन्दै महानगरले काम थालेको दोस्रो दिन भौतिकरूपमै हस्तक्षेप गरेपछि केहीबेर तनाव भएको थियो । यही विषयलाई लिएर सरकारकै दुई तह आरोप प्रत्यारोपमा उत्रिएका थिए । महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा सडक कार्यालयको द्वारमा महानगरका फोहोर बोक्ने गाडीले धुलो समेत थुपारिदिएका थिए ।