“मदन भण्डारी फाउन्डेसनको भविष्य अब हेर्नुपर्ने अवस्थामा छ”

काठमाडौँ :प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको आधिकारिक पहलबाट होइन, स्वतः उत्पन्न भएको संस्था भएको स्पष्ट पारेका छन्। सोमबार राजधानीमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले फाउन्डेसन आन्दोलन र पार्टीप्रति निष्ठाका आधारमा गठन भएको बताए।
ओलीका अनुसार, मदन आश्रित दिवस, श्रद्धाञ्जली सभा र जन्मोत्सव मनाउने अवसरमा अवरोध सिर्जना भएपछि यस्तो संस्था बनाउने आवश्यकता महसुस भएको थियो।
“मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, त्यो आफैं जन्मिएको हो। नेताका जन्मदिन मनाउन नदिने, श्रद्धाञ्जली सभा रोक्ने परिस्थितिमा हामीले यस्तो संस्थाको खाँचो देख्यौं,” ओलीले भने।
उनले फाउन्डेसनका पदाधिकारीको पछिल्ला अभिव्यक्ति र विभिन्न अनलाइनमाध्यमका रिपोर्ट हेर्दा यसको आगामी दिशा अस्पष्ट देखिएको टिप्पणी गरे।
“अब यसले कुन बाटो लिन्छ भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ,” उनले स्पष्ट पारे।
ओलीले पार्टीले बनाएका अन्य प्रतिष्ठानहरूबारे पनि चर्चा गर्दै पुष्पलाल तथा मनमोहन प्रतिष्ठान पार्टीकै पहलमा बनेको स्मरण गराए। तर, समयसँगै यस्ता संस्थाहरू व्यक्तिगत प्रभावमा मात्र सीमित हुनु राम्रो नभएको उनको भनाइ थियो।
“हाम्रा संस्था सामूहिक हुनुपर्छ, व्यक्तिगत स्वार्थका लागि होइन,” उनले जोड दिए।
उनले मदन भण्डारी फाउन्डेसन पार्टीको हित विपरीत प्रयोग गर्न नहुने चेतावनीसमेत दिए।