मंसिर ७ गते एमालेले गर्ने जनप्रदर्शनको अर्थ, रास्वपालाई ‘थ्रेट’
काठमाडौं– सरकारको नेतृत्व गरेको नेकपा एमालेले आउने साता काठमाडौंमा जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ।
सत्तामा रहेको एमाले किन प्रदर्शनको निर्णयमा पुग्योरु महासचिव शंकर पोखरेल भन्छन्,‘एमालेमाथि विपक्षीको लगातार अनयास आक्रमण भयो। यसकारण बुझाउनका लागि सभाको निधो भयो।’
विपक्षी दलले दबाब बढाएपछि एमालेले उपत्यकाका तीन वटा जिल्ला कमिटी, चारवटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनबाट एक लाख काठमाडौंमा उतार्न लागेको छ।
एमाले नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्नको लागि एमालेले सडकमा शक्ति देखाउन लागेको हो।
एमाले विज्ञप्तिमा भन्छ,‘विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन्।’
एमालेको यो प्रदर्शनको कारणमा जे उल्लेख गरेको छ यसको अर्थ रास्वपाले गरेको प्रचार हो। सभापति रवि लामिछानेले नै अदालत परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न गरेको आह्वान र पोखरादेखि काठमाडौं र भैरहवामा एमालेविरुद्ध भएका नाराबाजी चिर्न पनि यो सभाको तयारी भएको हो।
एमाले नेताका अनुसार माओवादीले पनि सभा गरेर एमालेमाथि प्रहार गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम् एमालेविरोधी हुंकार छाडिरहेका छन्।
एमालेको यो जनसभा रास्वपाका लागि सांकेतिक थ्रेट समेत रहेको बताइन्छ। ‘प्रक्रियामा भएका चिजमा एमालेविरुद्ध प्रचार गरियो। सामाजिक सञ्जालदेखि सडकसम्म एमालेलाई गाली किन गर्ने’, एक नेता भन्छन्,‘एमाले त्यो शक्ति हो कोहीसामु गल्दैन भन्न पनि यो जनसभाको तयारी गरिएको हो।’